Sunday, April 20, 2008

बीपीको सपना र साम्यवादी रोमाञ्चकता

डा जुगल भूर्तेल
भर्खरै जनमतसङ्ग्रहको घोषणा भएको थियो । म त्यसबेला झापाको एउटा स्कुलमा कक्षा आठमा अध्ययनरत थिएँ । नक्सलवादी आन्दोलनले गर्दा जिल्लाको हावामा पहिलेदेखि नै क्रान्तिको तीखो गन्ध व्याप्त थियो, जसमा लटि्ठएर स्कुलका अधिकांश साथीहरू 'वामपन्थी' भइसकेका थिए । म उनीहरूको वर्गशत्रुको परिभाषाभित्र पर्थें कि पर्दिन थिएँ थाहा भएन तर व्यक्तिहत्याले समाजमा परिवर्तन हुन्छ भन्ने कुरामा कुन्नि किन मलाई विश्वास नै भएन । जसको निर्ममतापूर्वक हत्या गरियो, उनीहरूप्रतिको मानवीय समवेदनाले ममा त्यस्तो क्रान्तिप्रति वितृष्णा उत्पन्न भयो । उता राज्यले पनि बलपूर्वक 'पञ्चायत' विषय पढाउन खोज्थ्यो तर मलाई भने 'काङ्ग्रेस', 'बीपी', जस्ता शब्दले रोमाञ्चित गर्न थालेका थिए । प्रजातन्त्रको अर्थ अझै बुझ्न बाँकी नै थियो तर त्यसै विषयमा स्कुलमा अखिलकी एउटी नेतृसँग मेरो चर्को विवाद भइरहन्थ्यो । अहिले विद्यार्थी राजनीतिका नारा र सन्दर्भ परिवर्तित भएका छन् तर त्यसबेला नेपालको तत्कालीन राजनीतिजस्तै हाम्रो बहस पनि बीपीको व्यक्तित्व र उहाँको 'प्रजातन्त्र' को समर्थन या विरोधको वरिपरि केन्द्रित थियो । वामपन्थीहरू कुन्नि किन मुलुकका सामन्ती संस्थाहरू भन्दा उहाँप्रति धेरै पूर्वाग्रही थिए ।

अखिलकी नेतृको साम्यवादको बुझाइ मैले प्रजातन्त्र बुझेभन्दा गतिलो त थिएन तर उनको क्लिष्ट हुँदै गएको भाषाबाट म अनुमान लगाउँथेँ, माओको लिटल रेड बुक का केही पानाहरू भने उनले अवश्य पल्टाइसकेकी हुनुपर्छ । सचित्र चीन पत्रिका उनको मुख्य खुराक थियो । त्यसमा ङिंच्चच हाँसेका चिनियाँ मजदुरहरूको फोटो देखाएर उनी तर्क गर्थिन्, "हेर ! तिमीहरूले भनेजस्तो कम्युनिज्ममा स्वतन्त्रता नहुने भए मान्छे यसरी उन्मुक्त हाँस्न सक्थे ?" त्यो उनको निष्कपटता थियो कि बठ्याइँ, ठम्याउन नसकी म चकित हुन्थेँ । म पनि सरिता, दिनमान जस्ता हिन्दी पत्रिकाबाट \'चीनमा भन्दा बढी छन् भारतमा ट्रयाक्टरहरू' जस्ता शीर्षक खोजीखोजी ल्याउँथेँ र चिनियाँ 'साम्यवाद' भन्दा भारतीय 'प्रजातन्त्र' मै धेरै विकास भएको प्रमाणित गर्थें । उनको एउटा प्रश्नले भने मलाई असहज बनाउँथ्यो, "हामी त सर्वहाराको शासन ल्याउन लडेका छौँ । तिमीहरू नि ?" यसको मसँग कुनै तर्कसङ्गत जवाफ थिएन । तर, उनीहरू बीपीप्रति अलि बढी नै आक्रामक भएकाले उनलाई चिढ्याउने हेतुले म भन्ने गर्थें, "बीपीको सपना साकार पार्न ।" मलाई उनीहरूसँग रेड बुक भएकोमा ईर्ष्या लाग्थ्यो । हाम्रालागि कसैले त्यस्तो 'वेद' नलेखिदिएकाले मित्रवत् जुहारीमा धेरैपटक निरुत्तर हुनुपर्थ्यो ।

जनमतसङ्ग्रहमा बहुदलको हारले हामी ज्यादै खिन्न थियौँ । बीपीले अब के भन्नुहुन्छ भन्ने ठूलो प्रतीक्षा थियो । तर, उहाँले त्यही पुरानै साम्यवादको त्रास र राजासँग घाँटी जोडिएको तर्क दिएर हामीलाई ज्यादै निराश पार्नुभयो । अनेक प्रपञ्च गरेर पञ्चायतलाई जिताउने र दशकौं अघि ढालिनुपर्ने एउटा महासामन्ती संस्थासँग समाजवादी भनिएको दलको घाँटी कसरी जोडियो, म बुझ्न सक्तिन थिएँ । अखिलका साथीहरू यही विषयलाई लिएर मलाई लाजमर्दो स्थितिमा पारिरहन्थे । उनीहरूको 'कोसी, गण्डकी बेचुवा' को आरोपलाई त म जसोतसो प्रतिवाद गर्थें तर तिनले भेट्टाएको नयाँ नाराले मलाई असहज नै बनाउँथ्यो, "बीपीको सपना के हो, सक्रिय राजतन्त्र जे हो ।" त्यस्तो बेला स्कुलको तनाव घरसम्म आइपुग्थ्यो र म भावुक हुँदै आफ्नै दाइसँग बीपीले लिएको अडानको अर्थ खोज्ने प्रयास गर्थें । उहाँ शीतयुद्धले ग्रस्त तत्कालीन अन्तर्राष्ट्रिय परिस्थिति, अफगानिस्तानमा भएको साम्यवादको अतिक्रमण र त्यसबाट दक्षिण एसियामा उत्पन्न राजनीतिक उतार-चढाव आदि कुराले गर्दा नेपाल राष्ट्रको अक्षुणताका लागि राजतन्त्र अझै अपरिहार्य भए पनि नेपाली काङ्ग्रेसले त्यसको सक्रियतालाई कहिल्यै नस्वीकार्ने कुरा दोहोर्‍याइरहनु हुन्थ्यो तर संवैधानिक रूपमै भए पनि सामन्तवादको औचित्यमा म कसैगरी पनि सहमत हुन सक्तिन थिएँ । त्यसो भए नेपाली काङ्ग्रेसको अभीष्ट के हो भनेर सोद्धा दाइले संक्षिप्त जवाफ दिनुहुन्थ्यो, "आर्थिक समानता र राजनीतिक स्वतन्त्रता ।" जुनसुकै रङको भए पनि राजतन्त्र रहुन्जेल सबै सामन्ती संरचनाहरू यथावत् रहने हुँदा त्यस्तो व्यवस्थामा जनता आर्थिक रूपले समान हुन्छन् भन्ने कुरा मलाई विश्वसनीय लाग्दैनथ्यो । अखिलकी नेतृझैँ मलाई पनि कुनै दासत्व स्वीकार थिएन । म उन्मुक्ति चाहन्थेँ तर बीपीले मेलमिलाप भनेर मेरा हातखुट्टा कसेर बाँधिदिनुभयो । त्यसैले मलाई आफूभन्दा उनी नै बढी क्रान्तिकारी हुन् कि भन्ने आशङ्का हुन्थ्यो र म हीनताबोधले ग्रस्त हुन्थेँ । त्यसबेला बीपीप्रतिको आशक्तिपूर्ण सम्मानले मात्र म विद्रोही हुन सकिनँ तर मेरालागि उहाँको सपना झन्झन् अमूर्त हुँदै गयो ।

कलेज भर्ना हुन म काठमाडौँ आएपछि स्कुलका छेडछाड 'नस्टेल्जिक' स्मृति भए । राजनीतिमा ठूलो सम्भावना बोकेकी अखिलकी नेतृको त्यसलगत्तै बिहे भयो भन्ने सुनेँ । तर, नियतिले मलाई उनले बारम्बार दोहोर्‍याउने 'साम्यवादमा मात्रै मानिस पूर्ण रूपले स्वतन्त्र हुन्छ' भन्ने थेसिसको सत्यतालाई जाँच्ने मौका दियो उच्चशिक्षाका लागि रुस जाने छात्रवृत्तिमार्फत ।

सन् १९८८ मा म रुस पुग्दा ७० वर्ष पुरानो सोभियत सङ्घ धमिराले खाएको रूखझैँ ढल्न-ढल्न लागेको थियो । सन् '७० को मध्यदेखि नै सोभियत अर्थतन्त्रमा गहिरो सङ्कट देखिन थालिसकेको रहेछ । नाजीसँगको लडाइँमा दुई करोडभन्दा बढी जनता गुमाएको सोभियत सङ्घमा दोस्रो विश्वयुद्धपछि राष्ट्रवादको नौलो लहर आयो । तहस-नहस भएको मुलुक बनाउने जनताको तीव्र आकाङ्क्षाले गर्दा देशले औद्योगिक, सामरिक, अन्तरिक्ष र अन्य धेरै क्षेत्रमा ठूलो फड्को मार्नसकेको थियो । सामाजिक सुरक्षा, निःशुल्क शिक्षा र स्वास्थ्यसेवाजस्ता अवधारणाले मानव संशाधनको विकास भयो । तर, ब्रेझनेभको पालासम्म आइपुग्दा कम्युनिस्ट पार्टीभित्र बढेको भ्रष्टाचार, आफन्तवाद, चरम तानाशाही प्रवृत्ति आदिले त्यस आकाङ्क्षामा व्यापक ह्रास आयो र विकासको गति पनि घट्दै गयो । जमिनको राष्ट्रियकरण गर्ने निर्णय कालान्तरमा ज्यादै अदूरदर्शी सावित भयो । त्यसरी ल्याइएको ' कलेक्टिभ फार्मिङ्' र 'स्टेट फार्मिङ्' को असफलताले मुलुक खाद्य समस्याले ग्रस्त थियो । अमेरिकाभन्दा साढे चार गुणा बढी ट्रयाक्टर उत्पादन गरेर पनि उर्बर भूमिले भरिएको सोभियत सङ्घले क्यानाडा र अमेरिकाबाटै खाद्यान्न आयात गर्नुपर्थ्यो ।

बीपीले भन्नुहुन्थ्यो, "मार्क्सवादमा वस्तुको रूपमा मानिसको अवमूल्यन हुन्छ ।" साँच्चै, हरेक क्षेत्रमा राज्यको हस्तक्षेप भयो भने मान्छेको सिर्जनशीलता मर्ने रहेछ । उद्योगहरूको एक मात्र लक्ष्य सरकारी कोटा पूरा गर्न हुन थाल्यो । कोटा पूरा नगर्ने उद्योगको अनुदान रोकिने वा कोटालाई झन् बढाइने हुँदा कामदारहरू गुणभन्दा सङ्ख्यामा जोड दिन्थे । फलस्वरूप राम्रा र नयाँ कुराहरू बन्न छाडे । हतियारबाहेक अन्य कुनै क्षेत्रमा प्रविधिको राम्रो विकास हुन सकेन । कारखानाका पुराना मेसिनरीहरूले पश्चिमी मुलुकहरूको तुलनामा धेरै इन्धन खपत गर्ने हुँदा सोभियत उत्पादनले अन्तर्राष्ट्रिय बजारमा उनीहरूसँग प्रतिस्पर्धा गर्न नसक्ने स्थिति आयो र निर्यात ठप्पजस्तै भयो । झन्डै दुई दशक लामो ब्रेझनेभको शासनकालमा देखिएको प्रगतिरोधले साम्यवादी व्यवस्थाले एउटा निश्चित सीमासम्म मात्र आर्थिक विकास गर्नसक्ने रहेछ भन्ने तथ्यलाई छर्लङ्ग देखाइदियो । वास्तवमा रुसमा जतिसुकै अविवेकी ढङ्गले खर्च गरेर पनि नसकिने अथाह प्राकृतिक स्रोत भएर मात्र साम्यवादी व्यवस्था त्यति लामो समयसम्म टिक्न सकेको रहेछ । पार्टीको व्युरोक्रेसीबाहेक सबै साधारण मान्छे गरिब थिए, त्यसैले समान थिए । तर, जनताले त्यस्तो साम्यवाद चाहेका थिएनन् । अमेरिकी जिन्स र जापानी क्यासेट प्लेयर जस्ता पुँजीवादी उत्पादनले मानिसको सामाजिक प्रतिष्ठाको मापन गरिन्थ्यो । उता स्तालिनको शासनकालमा दोस्रो विश्वयुद्धमा भन्दा धेरै सोभियत जनताको नरसंहार भएको तथ्य खुल्दै गयो । संसारमा अन्य कुनै राज्यले आफ्नै देशका जनतालाई त्यति सङ्ख्यामा मारेको तथ्याङ्क छैन । सर्वहाराको अधिनायकवादमा समावेशी शब्द हात्तीको देखाउने दाँत मात्र रहेछ । स्तालिनले विरोधी भएको आशङ्कामा चेचेन जातिलाई नै आफ्नो पुर्खाको माटोबाट विस्थापित गरेर चेचेनियाबाट काजाखिस्तान लखेटेका थिए, जसको प्रतिफल चेचेन आतङ्कवादको रूपमा रुसले अहिलेसम्म बेहोरिरहेको छ । अन्य जनजातिले पनि साम्यवादी व्यवस्थामा त्यति नै दमन झेलेका घटनाले सोभियत इतिहास भरिएको छ ।

गोर्वाचोभले 'ग्लासनस्त' (खुलापन) र ' पेरेस्त्रोइका' (पुनर्निर्माण) को माध्यमबाट परिस्थितिमा सुधार ल्याउने प्रयास गरे पनि उनको प्रयास मूलतः साम्यवादी व्यवस्थालाई विस्तारै प्रजातान्त्रीकरण गर्दै सामाजिक स्वीकृति दिलाउनेतिर केन्द्रित थियो । लेख भालेन्साको शब्दमा, "उनी इन्जिन नै फेल हुन आँटेको एउटा ७० वर्ष पुरानो ट्रकलाई अक्करको भीरमा उकाल्ने असफल प्रयास गरिरहेका थिए ।" तर, सर्वहाराको अधिनायकवादसँग सोभियत जनताको मोहभङ्ग भइसकेको थियो र अब जस्तोसुकै सुधारिएको साम्यवादले पनि उनीहरूको स्वतन्त्रता र मुक्तिको तीव्र चाहनालाई पूरा गर्न सक्दैन थियो । सेना लगाएर दबाउन खोज्दाखोज्दै पनि मस्को, बाकु, तब्लिसी, ताल्लिनजस्ता शहरमा ठूल्ठूला जुलुस निस्किए । त्यसको केही समयपछि गोर्वाचोभलाई पदच्युत गर्न अतिवादी कम्युनिस्टहरूद्वारा गरिएको कू लाई तिनीहरूकै समर्थक ठानिएको सेनाले पनि अन्ततः साथ दिन अस्वीकार गर्‍यो । त्यही परिस्थितिमा निमित्त-नायकका रूपमा येल्तसिनको उदय भयो र उनीसँगै सोभियत साम्राज्यको पतन ।

रुसमा सन् १९१७ अघिको लामो सङ्घर्षमा लेनिनका अनुयायीले आत्मबलिदान गरेजस्तै अहिले नेपालका धेरै माओवादी युवाहरू पनि सर्वहाराको अधिनायकवादका लागि नै निष्ठापूर्वक लडिरहेका होलान् तर क्रान्तिको 'रोमान्टिसिज्म' बाट मुक्त भएको दिन सोभियत जनताझैँ उनीहरूको पनि मोहभङ्ग हुने निश्चित छ । त्यतिखेर स्तालिनवादको नेपाली संस्करणले ध्वस्त भइसकेको अभागी मुलुकको माटोमा उभिएर आफ्ना हजारौँ दाजुभाइको रगतले लतपतिएको बन्दुक हेर्दै पश्चात्ताप गर्नुबाहेक उनीहरूसँग अरू केही बाँकी रहने छैन । राष्ट्रकै अस्मिता पनि नजोगिन सक्छ । सशस्त्र क्रान्तिको जुनसुकै परिणाममा पनि अन्ततः मुलुककै हार हुने यथार्थलाई बुझेर नै होला, बाल्यावस्थाको कलिलो राजनीतिक अवचेतनमा विद्रोहको प्रथम आगो सल्काइदिएर पनि बीपीले हामीलाई बन्दुक बोक्न सिकाउनु भएन ।

सबैथरीका बन्दुकले विजयको गर्जन गरिरहेका बेला भावनात्मक कुरा अर्थहीनझैँ लाग्न सक्छन् तर रुसी जनताको बलिदानको इतिहासले मलाई के बुझाएको छ भने मान्छेमा स्वतन्त्रता भन्दा ठूलो कुनै अर्को आकाङ्क्षा हुन्न । आफ्नो सपना नबताई बीपी हामीलाई छोडेर जानुभएकाले आज मनीषा र प्रकाश कोइरालाहरू त्यसको आफूअनुकूल व्याख्या गरेर हिँडेका छन् । यस्तो लाग्छ, मानौँ प्रतिगमनलाई संस्थागत गर्न नै उहाँले 'राष्ट्रिय मेलमिलाप' को नीति प्रतिपादन गर्नुभएको थियो । तर, हामीलाई विश्वास छ, प्रचण्डपथ होस् वा राजहठ, कसैले पनि खोस्न नसक्ने नेपाली जनताको स्थायी स्वतन्त्रता नै बीपी कोइरालाको अन्तिम सपना थियो ।
(साभार: नेपाल पाक्षिक, २००६)

No comments: